बालिका बलात्कारको आरोपमा दुई युवक पक्राउ

तु खबर संवाददाता
२०७९ पुष ४, सोमबार १५:३०
सांकेतिक तस्बिर

विराटनगर । मोरङको सुन्दरहरैचामा स्कुलबाट घर फर्कदै गरेका दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा–६ का २१ वर्षीय प्रताप तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरुमाथि सुन्दरहरैँचा–३ र ५ घर भएका २ जना बालिका बलात्कार गरेको आरोप रहेको छ । बालिका १४ वर्षका छन् ।
पुस १ गते शुक्रबार घरबाट स्कुल हिँडेका बालिका भोलिपल्ट मात्रै घर फर्किएका थिए । आफन्तले सोधीखोजी गर्दा बलात्कृत भएको खुलाएका आएको प्रहरीले जनाइएको छ ।

बालिकालाई सुन्दरहरैँचा–७ बेलगाछीमा रहेको होटल दरबार इन, रेस्टुरेन्ट एन्ड लजको दोस्रो तलाको अलगअलग कोठामा बलात्कार गरेको खुलेको प्रहरीले बताएको छ ।

बालिकाका अभिभावकले आईतबार साँझ दिएको किटानी जाहेरीका आधारमा प्रहरीले तिम्सिना र तामाङलाई पक्राउ गरेको हो ।

प्रहरीले घटनाको मतियारका रूपमा सुन्दरहरैँचा–५ का २० वर्षीय बेञ्जु चौधरी र सुन्दरहरैँचा–६ का २० वर्षीय पदम कार्कीलाई पनि नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।