बागमती प्रदेशमा ३३ वटा राजनीतिक दलको धरौटी जफत

तु खबर संवाददाता
२०७९ पुष ३, आईतवार १०:३८
file-photo

मकवानपुर । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा बागमती प्रदेशसभाका लागि भएको चुनावमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा प्रत्यक्ष तर्फ ३५ र समानुपातिक तर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी भएकामा ३३ दलको धरौटी जफत भएको आयोगका सचिव गोकर्णमणि दवाडीले जानकारी दिए ।

उनका अनुसार, प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष तर्फ पुरुष ५८८ र महिला ८० गरी कूल ६६८ जना र समानुपातिक तर्फ कूल ७५४ जना उम्मेदवारको बन्द सूची कायम भएको आयोगको प्रतिवेदनमा उल्लेख छ । जसमा १० प्रतिशतभन्दा कम मत प्राप्त गरेका ४१७ पुरुष र ६७ जना महिला गरि कूल ४८४ जनाको धरौटी जफत भएको छ ।

शनिबार उक्त निर्वाचनको प्रतिवेदन बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष पेस गरे लगत्तै प्रदेश निर्वाचन कार्यालय हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोगका सचिव दवाडीले सो प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको ७ दिनभित्र प्रदेश प्रमुखसमक्ष पेस गर्नुपर्ने प्रावधान रहेको छ । सोही अनुसार, आयोगले शनिबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष उक्त प्रतिवेदन पेस गरेको थियो ।

सो पश्चात निर्वाचित प्रदेश सभा सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिने सचिव दवाडीले बताए ।

आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार बागमती प्रदेशमा ७ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको छ । प्रदेशसभातर्फ ११० जना निर्वाचित भएका छन् ।