सुनको गहना चोरेको आरोपमा एक महिला पक्राउ
काठमाडौं । पोखरा बजारका विभिन्न स्थानबाट सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नं. ६ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, श्रेष्ठले पोखरा बजारका विभिन्न स्थानबाट वृद्धा महिलाहरुको घरमा परिवारका अन्य सदस्यहरु नभएको मौका पारी सुनका गहना र नगद चोरेकी थिइन् ।
पीडित ९ जनाले अपरिचित एक महिलाले गहना चोरी गरेको उजुरी दिएपछि रामबजारबाट खटिएको प्रहरीको विशेष टोलीले श्रेष्ठलाई बुधबार पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट सुनका गहना र नगदसमेत बरामद गरेको छ ।
उनलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
