रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

तु खबर संवाददाता
२०७९ मंसिर २८, बुधबार १५:५१
file-photo

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिध सभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

लामिछानेविरुद्ध सिन्धुली घर भएका युवराज सफलले सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्न माग गरेका हुन् ।

रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।

लामिछानेले आफूखुशी अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेकोे अवस्थामा उनले पदाधिकारी रही दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै रिटमा निर्बाचन आयोगले संबिधान र ऐनको गम्भीर उल्लङ्घन गरेको दावी गरिएको छ ।

लामिछाने गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य पदमा चितवन–२ बाट निर्वाचित भएका थिए ।

रिटमा लामिछाने प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको ठहर गरी सांसद पदबाट मुक्त गर्न निर्वाचन आयोगको नाममा परमादेशको आदेश माग गरिएको छ ।