जग्गाको विषयमा कुटपिट गरी वृद्धाको हत्या, एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ मंसिर २७, मंगलवार १५:३०

सर्लाही । सर्लाहीमा जग्गाको विषयलाई लिएर कुटपिट गरी एक वृद्धाको हत्या गरिएको छ । चक्रघट्टा गाउँपालिका–२ भेल्ही बस्ने ७० वर्षीया सागर देवीको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले सागरको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने उनकै देवर नाता पर्ने ६५ वर्षीय पुकार रायलाई सोमबार दिउँसो पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, पुकार राय, उनको छोरा ४० वर्षीय जितु भन्ने जितेन्द्र राय र बुहारी ३० वर्षीया अनिता देवी राय समेत मिली जग्गाको विषयलाई लिएर कुटपिट गर्दा सागर देवीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ पुरकारलाई पक्राउ गरिएको हो ।

घटनामा संलग्न हाल फरार जितेन्द्र र अनिताको खोजी गर्नुका साथै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।