बालिकालाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ
बागलुङ । फेसबुकमा चिनजान भएका ३ जना बालिकालाई जन्मदिन मनाउन भन्दै बोलाएर बलात्कारमा गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । १ जना १६ र २ जना १५ वर्षका बालिकालाई बलात्कार गरेर फरार भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा धादिङ घर भएर पोखरा महानगरपालिका–८ बस्ने १९ वर्षीय सन्दीप तामाङ, गुल्मी घर भएर पोखरा–१७ बस्ने १९ वर्षीय राहुल थापा र बागलुङको गलकोट घर भएर पोखरा–८ सिर्जनाचोक बस्दै आएका २५ वर्षीय अशोक दर्लामी रहेका छन् ।
फरार भएका सन्दीप र राहुललाई प्रहरीले बागलुङ बजार र अशोकलाई काठेखोला गाउँपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
प्रहरीका अनुसार, गत मंसिर २३ गते साथीको जन्मदिन मनाउन भन्दै घरबाट निस्किएका उनीहरु नफर्किएपछि परिवारले खोजी गर्दा २५ गते बागलुङ बजारको होटलमा फेला परेका थिए । प्रहरी र आफ्न्तको सोधपुछको क्रममा बालिकाहरु बलात्कारमा परेको खुल्न आएको हो ।
बालिकालाई पक्राउ परेकाहरुले नै जन्मदिन मनाउने भन्दै बोलाएको पाइएको प्रहरीले जनाएको छ । पीडित बालिकाको धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परीक्षण गरिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
