बागमती प्रदेशसभाको बैठक संचालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुग्यो
मकवानपुर । बागमती प्रदेशसभाको आगामी अधिवेशन बैठक संचालन गर्नको लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । बैठक संचालनको लागि प्रदेश सभाको पुरानै भवनलाई मर्मत सम्भार गर्ने काम भइरहेको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभाको नयाँ सभाहल निर्माण सम्पन्न नभएकाले पुरानै भवनलाई मर्मत सम्भार गरेर प्रदेशसभा बैठक संचालन गर्न लागिको उक्त सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
उनका अनुसार, उक्त भवनमा हाल रंगरोगन, कुर्सीहरुको व्यवस्थापन तथा हलमा फलसिलिङ्गको काम अन्तिम चरणमा पुगेको र अब दलहरुको आसन व्यवस्थापनको काम मात्र गर्न बाँकी रहेको छ । प्रदेशसभा सचिवालय मर्मत तथा रगंरोगनका लागि ७ लाख रुपैयाँ खर्च गरेको सचिव खड्काले जानकारी दिए ।
प्रदेशसभाको बैठकको लागि अब छिट्टै सर्वदलीय बैठक बस्ने र उक्त बैठक आफ्नै (खड्का) नेतृत्वमा बस्ने उनको भनाई छ । दोस्रो कार्याकालको पहिलो सर्वदलीय बैठकले सांसदहरुलाई स्वागत तथा सपथ ग्रहण, सभामुखको निर्वाचन तालिका, संसदीय दलको व्यवस्थापनलगायत काम गर्नेछ ।
प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ गरी ११० जना सदस्यहरु निर्वाचित भएका छन् । उनीहरु गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रदेश सभासदस्यमा निर्वाचित भएका हुन् ।
