प्रहरी भन्दै अभद्र व्यवहार गर्ने दुई जना पक्राउ
अर्घाखाँची । अर्घाखाँचीमा प्रहरी भन्दै अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका–५ बागीका २० वर्षीय दीपक केसी रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, उनीहरुले सन्धिखर्क नगरपालिका बसपार्क क्षेत्रमा ‘हामी नेपाल प्रहरीका सादा पोशाकमा खटिएका प्रहरी हौं’ भन्दै मादक पदार्थ सेवन गरी बसपार्क वरपरका होटल तथा पसल लगायतमा जाँच गर्ने, स्थानीय व्यक्तिहरूलाई डर, त्रासमा पारी गालीगलौज तथा अभद्र व्यवहार गरेका थिए ।
नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरूले उल्टै प्रहरीमाथि हातपात, गालीगलौज तथा अभद्र व्यवहार गरेका थिए । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेका जनाइएको छ ।
