इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा ३० लाख रुपैयाँको क्षति
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित एक इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा करिब ३० लाख रुपैयाँ बराबरको धनजनको क्षति भएको छ ।
गएराति महेन्द्रनगरको अमरचोकस्थित हिरा इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा पसलमा रहेका फ्रिज, राइसकुकर, पंखा, ग्यास चुल्हो लगायत सामान जलेर करिब ३० लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
मिथिला नगरपालिका २ का हिरा महतोले संचालन गरेको सो पसलमा बुधबार राति करिब साढे १२ बजे आगलागी भएको थियो । मिथिला नगरपालिका ढल्केबरबाट आएको वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा बिहीबार (आज) बिहान ३ बजेतिर मात्र नियन्त्रणमा आएको थियो ।
विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको भएपनि हाल मुख्य कारण नखुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
