लागूऔषधसहित १९ जना पक्राउ
काठमाडौं । गोंगबुबाट अवैध लागूऔषध ब्राउन सुगरसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका–१० गोंगबु बस्ने ३३ वर्षीय डलराज मगरको कोठाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ ग्राम १९ मिलिग्राम र उनीसहित १९ जनालाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मगरको कोठामा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले खानतलासीका क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार, उक्त कोठाबाट अवैध लागूऔषधसँगै ६५ हजार ५० रुपैयाँ नगद पनि बरामद गरिएको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
