पोर्चुगल पठाइदिने नाममा २७ लाख रूपैयाँ ठगी, एक जना पक्राउ
काठमाडौं । पोर्चुगल पठाइदिने नाममा २७ लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको कन्काइ नगरपालिका–७ स्थायी घर भई भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्य रहेका छन् । उनले विदेश पठाउने नाममा ठगी गरेको पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आचार्यले उमेश अधिकारीसमेत गरी चार जनालाई वर्किङ भिसामा पोर्चुगलमा आकर्षक तलब प्राप्त हुने लोभ देखाएर ठगी गरेको खुल्न आएको छ ।
आचायले पोर्चुगल जान १२ लाख लाग्ने बताएर ठगी गरेको खुलेको हो । यसरी पोर्चुगल गएपछि मासिक एक लाख रूपैयाँ कमाइ हुने भनी प्रलोभनमा पारी पटक–पटक गरेर पीडितबाट २७ लाख रूपैयाँ असुलेको खुलेको छ ।
पक्राउ परेका आचार्यलाई थप कारबाहीका लागि मंगलबारै वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौंमा बुझाइएको जनाइएको छ ।
प्रहरीले बैंकिङ कसुर गरेको आरोपमा नुवाकोटको ओखरपौवा घर भइ काठमाडौंको तारकेश्वर बस्ने २९ वर्षीय श्रीराम घिमिरेलाई पनि बालाजुबाट पक्राउ गरेको छ। उनीमाथि चार लाख ५० हजार रूपैयाँ बिगो बराबरको बैंकिङ कसुर गरेको आरोप छ ।
