बागमती प्रदेशमा मानव अधिकार उलङ्घनको ३३ उजुरी

तु खबर संवाददाता
२०७९ मंसिर १६, शुक्रबार १०:०५

मकवानपुर । बागमती प्रदेशमा गत आर्थिक वर्षमा मानव अधिकार उलङ्घनको ३३ उजुरी परेको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा प्रदेशको १३ जिल्लामध्ये १० जिल्लामा गरी ३३ वटा मानव अधिकार उलङ्घनको ३३ उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश कार्यालयले जनाएको छ ।

मानव अधिकार आयोगका बागमती प्रदेश कार्यालयका उपसचिव यज्ञप्रसाद अधिकारीका अनुसार, प्रदेशको सबैभन्दा धेरै काठमाडौं र ललितपुर जिल्लामा मावव उलङ्घनको उजुरी परेको छ । त्यहाँ क्रमशः ८ र ७ वटा मानव उलङ्घनको उजुरी परेको हो ।

यस्तै, चितवनमा ४ वटा, नुवाकोट ४ वटा, सिन्धुपाल्चोक ३ वटा, काभ्रे, धादिङ र दोलखामा २–२ वटा तथा रामेछापमा १ वटा उजुरी परेको कार्यालयका उपसचिव अधिकारी बताए ।

नेपालमा राष्ट्रिय मानवअधिकार आयोगमा परेका उजुरीमध्ये १०.५ प्रतिशतलाई मात्र कारबाहीको दायरामा ल्याईएको उनले बताए ।

प्रदेशको मकवानपुर, भक्तपुर, रसुवा र सिन्धुलीमा भने गत वर्ष मानव उलङ्घनका कुनै पनि उजुरी नपरेको उनले बताए ।