मकवानपुरमा समानुपातिकतर्फ एमाले पहिलो दल बन्यो

तु खबर संवाददाता
२०७९ मंसिर १२, सोमबार १७:३३
file-photo

मकवानपुर । मकवानपुरमा हालै सम्पन्न समानुपातिक निर्वाचनतर्फ नेकपा एमाले सबैभन्दा बढी मत ल्याएको छ । एमालेले मकवानपुर–१ र २ बाट प्रतिनिधिसभाको समानुपातिक तर्फ कूल ५० हजार ८०७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

आयोगका अनुसार, जिल्लाको क्षेत्र नम्वर १ बाट २२ हजार ६११ मत र क्षेत्र नम्वर २ बाट २८ हजार १९६ मत प्राप्त गरी पहिलो दल बनेको हो ।त्यस्तै, नेपाली कांग्रेसले मकवानपुर–१ र २ मा गरी कूल ३६ हजार २६४ मत प्राप्त गरी दोस्रो दल बनेको छ ।

यस्तै, रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २९ हजार ८८९ मतसहित तेस्रो, नेकपा माओवादी केन्द्र २६ हजार १३३ मतसहित चौथो र राष्ट्रिय प्रजातन्त्र पार्टी १६ हजार ७७१ मतसहित पाँचौं स्थानमा रहेको छ ।

उक्त क्षेत्रमा खसेको कुल मतमध्ये १ लाख ७० हजार १६६ मत सदर हुँदा ७ हजार ६९९ मत बदर भएको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले समानुपातिकमा ५३६ मत प्राप्त गरेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधि सभातर्फको समानुपातिकमा ३ हजार ८२७ मत मात्र प्राप्त गरेको छ ।