सांसद् भट्टराईलाई महामन्त्री थापाले दिए बधाई

तु खबर संवाददाता
२०७९ मंसिर १०, शनिबार ०९:५८

पोखरा । नेपाल परिवार दलका महामन्त्री एवम् गण्डकी प्रदेश संयोजक प्रकाशबाबु थापाले प्रतिनिधि सभामा निर्वाचित विद्या भट्टराइलाई बधाई दिएका छन् ।

थापाले नेकपा एमालेको तर्फबाट कास्की जिल्ला निर्वाचन क्षेत्र नम्वर –२ बाट निर्वाचित भट्टराईलाई देश र जनताको हितका लागि इमान्दारितापूर्वक काम गर्न शुभकामना दिए ।

महामन्त्री थापाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार पार्ने उद्देश्यका साथ अघि बड्न र युवा नेतृत्वप्रति जनताको बढ्दो आकर्षणलाई मध्यनजर गरी काम गर्न सुझाव दिए ।

‘बौद्धिक एवम् शिक्षित व्यक्तिको प्रवेशले प्रतिनिधिसभालाई पक्कै पनि एउटा उचाइमा पुर्याउनेछ । समाजमा विद्यमान विकृति, बिसंगती अन्त्य गर्दै समाज रुपान्तरणको पक्षमा नीति निर्माण गर्न उहाँले पहल गर्नुहुनेछ भन्ने विश्वास छ ।’ थापाले भने ।

भेटमा भट्टराईले आफुलाई निर्वाचित गराउन नेपाल परिवार दलको सहयोग महत्वपूर्ण रहेको भन्दै आभार व्यक्त गरिन् । उनले प्रचारप्रसारदेखि निर्वाचन सम्पन्न हुँदासम्म परिवार दलको भूमिका प्रशंसायोग्य रहेको बताइन् ।

उनले यो जित आफ्नो मात्रै नभई समग्र जनताको भएको बताउँदै सबै मिलेर देश र जनताको मुद्दालाई सदनमा उठाउने प्रतिवद्धता जनाइन् ।
भट्टराइ १६ हजार ८९८ मतसहित निर्वाचित भएकी हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले पछि पारेकी थिईन् ।