देशभरका १ करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने
काठमाडौं । भोलि मंसिर ४ गते आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि देशभर कूल १ करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली विवरणअनुसार देशभरबाट सो संख्यामा मतदाताले मतदान गर्न पाउने हुन् ।
आयोगको तथ्याङ्क अनुसार, बागमती प्रदेशमा सबैभन्दा धेरै मतदाता रहेका छन् । त्यहाँ कूल ३४ लाख ७१ हजार ४९२ जना मतदाता छन् । जसमध्ये पुरुष १७ लाख ३८ हजार ०८७, महिला १७ लाख ३३ हजार ३७८ र २७ अन्य मतदाता रहेका छन् ।
यसैगरी, प्रदेश १ मा १७ लाख २९ हजार ७७२ पुरुष, १६ लाख ६७ हजार ७१ महिला र २२ जना गरी कूल ३३ लाख ९६ हजार ८६५ मतदाता, मधेश प्रदेशमा १८ लाख २७ हजार ८५४ पुरुष, १५ लाख ५८ हजार ७०४ महिला र ७० अन्य गरी कूल ३३ लाख ८६ हजार ६२८ जना मतदाता, लुम्बिनी प्रदेशमा १६ लाख ३७ हजार १३२ पुरुष, १२ लाख १२ हजार ४७१ महिला र ३४ अन्य गरी कूल ३२ लाख २९ हजार ६३७ कूल मतदाता रहेका छन् ।
यसैगरी, गण्डकीमा ८ लाख ८२ हजार ३२९ पुरुष, ९ लाख ३५ हजार २०१ महिला र ११ अन्य गरी कूल १८ लाख १७ हजार ५४१ जना मतदाता, सुदूरपश्चिममा ८ लाख १५ हजार २१२ पुरुष, ८ लाख ४२ हजार ७७४ महिला र १८ अन्य गरी कूल १६ लाख ५८ हजार ४ मतदाता, कर्णाली प्रदेशमा ५ लाख १० हजार ४२० पुरुष, ४ लाख ९७ हजार महिला र ३ जना अन्य गरी कूल १० लाख ८ हजार ४०३ जना मतदाता रहेका छन् ।
