पैसा बाँडेको आरोपमा एमाले उम्मेदवार पक्राउ

तु खबर संवाददाता
२०७९ मंसिर ३, शनिबार ०८:५१
सांकेतिक तस्बिर

काठमाडौं । मौन अवधिमा पैसा बाँडेको आरोपमा काठमाडौं–५ को प्रदेशसभा ‘ख’ का उम्मेदवार दीपक निरौला पक्राउ परेका छन् । उनलाई पैसा बाँडेको आरोपमा हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार, निरौलासहित अन्य दुई जनालाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल रहेका छन् । उनीहरूलाई अहिले प्रहरी प्रभाग बुढानिलकण्ठमा राखिएको छ ।

उनीहरुले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो । काठमाडौं–५ बाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् । पक्राउ परेका निरौला नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष समेत हुन् ।