८२ लाख ठगेर फरार ज्वेलर्स संचालक प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ मंसिर १, बिहीबार ०९:५९
सांकेतिक तस्बिर

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ८२ लाख भन्दा बढी रकम ठगी गरेर फरार भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुन्दरहरैँचामा रहेको कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मा रहेका छन् ।

उनीहरुमाथि सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रूपैयाँभन्दा बढी ठगी गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, १७ प्रतिशत ब्याज दिने भनेर प्रलोभनमा पार्दै ८२ लाख ७४ हजार ६ सय २ रूपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । बचतकर्ताले रकम फिर्ताको माग गरेपछि उनीहरु पसल नै बन्द गरेर फरार थिए ।

गत साउन १७ गतेदेखि फरार बनेका राजु र कमलालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।