प्रहरीका वरिष्ठ सई भण्डारीको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक ३०, बुधबार ०८:२८

काठमाडौं । नेपालगन्ज विमानस्थल सुरक्षा गणका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) प्रेम भण्डारीको मृत्यु भएको छ । भण्डारीको मंगलबार मृत्यु भएको हो ।

मंगलबार नेपालगञ्ज विमानस्थलको भीआईपी कक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान कुरिरहेका थिए । कर्णालीको सभा सकेर हेलिकोप्टरमा नेपालगन्ज आएका प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष बुद्ध एयरमा काठमाडौं फर्किँदै थिए ।

सोही क्रममा भीआईपीको व्यवस्थापनमा खटिएका वरिष्ठ सई भण्डारी अचानक भीआईपी कक्ष बाहिर बेहोस भएका थिए । बेहोस उनलाई तत्काल अस्पताल लगिएपनि बचाउन नसकिएको बाँके प्रहरीले जनाएको छ ।

भण्डारी लामो सयमदेखि मृर्गौलाको समस्याले पीडित थिए । मंगलबार ड्युटीमा रहेका भण्डारीको ‘हर्ट अट्याक’का कारण मृत्यु भएको हो । उनी बैतडीका स्थानीय हुन् ।