निर्वाचन आयोग : मतदान केन्द्रमा क्यामरा र मोबाइल लैजान नपाइने

तु खबर संवाददाता
२०७९ कार्तिक २९, मंगलवार १७:३६

मकवानपुर । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समयमा मतदान केन्द्रमा क्यामरा, मोबाइललगायत अन्य निषेधित वस्तुमा रोक लगाएको छ ।

आयोगले मंगलबार मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन जारी गरेको छ ।

‘मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई सार्वजनिक आह्वान र अनुरोध गर्ने,’ आयोगले आज विज्ञप्ति जारी गर्दै भनेको छ ।

मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानून बमोजिम तत्काल कारबाही गर्न समेत आयोगले निर्देशन दिएको छ ।