देशलाई निकास र यस क्षेत्रलाई विकास गर्न आएको हुँ : डीना

तु खबर संवाददाता
२०७९ कार्तिक २८, सोमबार १८:२५

मकवानपुर । लोकतान्त्रिक बाम गठबन्धनतर्फ क्षेत्र नम्वर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय (डीना) ले आफु देशलाई निकास र यस क्षेत्रको विकास गर्न आएको बताएकी छन् । सोमबार बकैया गाउँपालिका वडा नम्वर ९ शिखरपुरमा आयोजित चुनावी सभामा बोल्दै उनले यस क्षेत्रमा गर्व गर्न लायकको विकास गरेरै छाड्ने दाबी गरेकी छन् ।

‘मैले कुनै लाभ पाउने अभिलाषाले यो चुनाबमा आएको होइन, उनले भने, ‘देशलाइ निकास चाहिएको छ, यो क्षेत्रलाई समृद्ध बनाउनु छ र मेरो एउटै उद्धेश्य नै यहाँहरुको माझमा रहेर गर्व गर्न लायकको विकास गर्ने हो ।’

उनले यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि , पुल–पुलेसा जस्ता जनताको दैनिकी जिवनसंग सम्बन्धित विषयलाई योजनाबद्ध ढंगले विकास गरिने बताइन् । त्यसका लागि केन्द्रदेखी प्रदेशका सरकारमा गठबन्धनको जित सुनिश्चित हुनुपर्ने र त्यो सुनिश्चितता यहाँले जनताले बनाउनुपर्नेमा जोड दिइन् ।

यस्तै, मकवानपुरको निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश सभा (क) का उम्मेदवार प्रेमबहादुर पुलामी (छिन्तु) ले गठबन्धनको मत संरक्षण गर्न मतदातालाई आग्रह गरे । बकैया गाउँपालिका वडा नम्वर ९ शिखरपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले जनताले मत संरक्षण गरिदिएमा यस क्षेत्रलाई विकास र समृद्ध बनाउने जिम्मेवारी आफ्नो रहेको बताए ।

‘अघिल्लोपटक मलाई जिताउनुभयो, मैले सकेको विकास गरे छिन्तुले भन्नुयभयो– ‘यसपटक फेरी आएको छु, गठबन्धनको मत संरक्षण गरिदिनुस् बाँकी के–के गर्नुपर्ने ? कहाँ–कहाँ विकास गर्नुपर्ने त्यो सबै जिम्मेवारी मेरो हो, तपाईहरुले चिन्ता लिनुपर्दैन । ’

उम्मेदवार छिन्तुले यस क्षेत्रमा व्याप्त रहेको लालपुर्जाको समस्यालाई गठबन्धन सरकारले छिट्टै निकास दिएर सबैको हात–हातमा लालपुर्जा थमाइदिने बाचा पनि गरे । आफु अरुजस्तो चुनाब जितेर गएसी भाग्ने खालको नभएको बताउँदै उनले एक मिनेटको समय पाएपनि त्यो जनताकै लागि खर्चिने जिकिर गरे ।

गठबन्धनकी प्रचार–प्रसार संयोजक ठुलीमाया मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक सर्केश घलान, माओवादी बागमती प्रदेश सदस्य जिवन गोले र लक्ष्मी पाख्रिन, गठबन्धनका क्षेत्र नम्वर १ प्रचार–प्रसार संयोजक दामोदर खनाल, वाइसिएल नेपालका केन्द्रिय सचिव सुमन पाख्रिन, माओवादीका बागमती प्रदेश सदस्य लक्ष्मी माझी लगायतको सहभागिता रहेको थियो ।