हत्या गरेको आरोपमा एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ कार्तिक २८, सोमबार १७:५५

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ बस्ने ४२ वर्षीय काजी मोहराको धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–८ बस्ने २२ वर्षीय सुजन पाचकोटी रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उर्लाबारी नगरपालिका–८ स्थित कल्पना पाचकोटीको घरमा पाहुना आएका काजी मोहरालाई घरायसी वादविवादको क्रममा सुजनले दाउ प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले घटनामा संलग्न सुजनलाई पक्राउ गरी घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।