भरुवा बन्दुकसहित पक्राउ
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–२ आरथुम्का बस्ने ३६ वर्षीय सनबहादुर घर्तीलाई एक नाले भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै घरबाट शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनको घरमा लुकाइछिपाइ राखेको उक्त बन्दुक १० वर्षीय बालकले चलाउने क्रममा पड्किँदा बालकको बाँया हातमा चोट लागि घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले बालकलाई उपचारको लागि मोती मेडिकल डुम्रे हुँदै सरकारी अस्पताल भरतपुर चितवन पठाई सन बहादुरलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
