अमेरिकाबाट ल्याइएको १० किलो गाँजासहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०७९ कार्तिक २६, शनिबार १०:०४

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट प्रहरीले १० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सल्यानका ४३ वर्षीय वीरबहादुर बुढाथोकी र भारतको पूर्वी चम्पारनका २५ वर्षीय राजा कुमार रहेका छन् ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले अमेरिकाबाट बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइछिपाइ ल्याएको अवस्थामा १० किलो ३०० ग्राम लागूऔषध गाँजा बरामद गरिएको जनाएको छ ।

प्रहरीका अनुसार, विमानस्थलमा उक्त पार्सल लिन आउने सल्यानका बुढाथोकी र उनीसँग गाँजा लिन आएका भारतीय नागरिक कुमारलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरूलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको छ। यसरी १० किलोभन्दा माथि गाँजा उत्पादन, चोरी, पैठारी र ओसारपसार गरेमा दुई वर्षदेखि १० वर्षसम्म कैद र रु १५ हजारदेखि एक लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।