मतदाता शिक्षा प्रभावकारी बनाउन आयोगको आग्रह
काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षालाई थप प्रभावकारी बनाउने आग्ह गरेको छ । गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि भने टोलटोलमा पुगेर पुनः मतदाता शिक्षा प्रभावकारी बनाउने अभियानलाई तीब्रता दिन आग्रह गरेको हो ।
मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले स्थानीय तहमार्फत प्रत्येक वडामा मतदाता शिक्षा कार्यकर्ता खटाएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार, निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी बनाउनको लागि मतदाता शिक्षा निर्देशिका, २०७९ निर्माण गरी मतदाता शिक्षा दिइरहेको छ ।
उनले निर्देशिकाले समेटेका विभिन्न कार्यक्रम संचालनका लागि मतदाता शिक्षा सामग्रीहरु छपाएर सबै स्थानीयहरुमा वितरण भइसकेको पनि बताए । सहप्रवक्ता अर्यालले मतदाता शिक्षाको लागि अडियो सामग्री रेडियो र भिडियो समग्री टेलिभिजन तथा अनलाइनमार्फत प्रशारण भइरहेको बताए ।
उनले मुलुकभरका ६ हजार ७५३ वडामा कार्यकर्तामार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको बताए ।
