निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने वडाध्यक्ष प्रहरीको फन्दामा
२०७९ कार्तिक २०, आईतवार १५:३१
बारा । बाराको निर्वाचन क्षेत्र नम्वर ४ को निर्वाचन कार्यालयमा तालाबन्दी गरेको आरोपमा प्रहरीले जीतपुर सिमरा उपमहानगर वडा नम्वर ७ का वडाध्यक्ष सुनिल गुप्तालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, गुप्ताले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन बिथोल्ने उद्देश्यले उपमहानगरको कार्यालयमा रहेको निर्वाचन कार्यालयमा आइतबार १ बजे तालाबन्दी गरेका थिए ।
उक्त ताला प्रहरीको सहयोगमा केहीबेरअघि खोलिएको छ । ताला खोलेसँगै वडाध्यक्ष गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडाध्यक्ष गुप्ताको नेतृत्वमा वडा सदस्यहरू सीता उप्रेतीसहितको टोली तालाबन्दीमा सहभागी भएको उपमहानगरले जनाएको छ ।
नगर प्रमुख राजन पौडेलले तत्काल प्रहरीमा जाहेरी दिने बताएका छन् । गुप्ता नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।
