मकवानपुरको बागमती गाउँपालिकामा नमुना मतदान

तु खबर संवाददाता
२०७९ कार्तिक २०, आईतवार १५:१०

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकास्थित झुरझुरेमा आइतबार नमुना मतदान गरिएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौंडाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी झुरझुरेमा नमुना मतदानको आयोजना गरेको हो ।

निर्वाचनमा मतदातालाई स्पष्टता दिन तथा मतदान कति ठाउँमा दिने, कसरी मतदान गर्ने भनेर जागरुक बनाउन नमुना मतदानको आयोजना गरिएको निर्वाचन कार्यालय बागमती प्रदेशका निर्वाचन अधिकारी लुम्बनाथ पोखरेलले जानकारी दिए ।

उनले नमुना मतदानबाट मतदाताहरुलाई मत बदर हुनबाट जोगाउन मद्धत गर्ने समेत बताए । नमुना मतदानमा महिला र पुरुष गरी ५३ जना मतदाता सहभागी भएका थिए ।

नमुना मतदानका क्रममा प्रतिनिधि सभा प्रत्यक्षतर्फको मात्रै मतगणना गरिएको थियो । जसमा खसेको ५३ वटा मतमा ५२ सदर भएको र १ वटा मत बदर आएको प्रदेश निर्वाचन अधिकारी पोखरेलले जानकारी दिए । नमुना मतदान भोलि बकैया गाउँपालिकामा आयोजना गरिने उनले बताए ।