हेटौंडामा शैक्षिक समस्या समाधानबारे अन्तरक्रिया
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा वर्तमान शैक्षिक समस्या समाधानमा संघ एवम् प्रदेश सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संघको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । लोकतान्त्रिक बामगठबन्धनका साझा उम्मेदवारहरूको सहभागितामा उक्त अन्तरक्रिया कार्यक्रम भएको हो ।
नेपाल शिक्षक संघ मकवानपुर अध्यक्ष रामकुमार अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रम प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष कुमार रुम्बाले संचालन गरेका थिए । कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुर अध्यक्ष गोकुल लम्सालले स्वागत मन्तव्य गरेका थिए ।
कार्यक्रममा प्रतिनिधि सभा १ का उम्मेदवार महालक्ष्मी उपाध्याय (डीना), मकवानपुर क्षेत्र नं. १ को प्रदेश सभा (ख) का उम्मेदवार आनन्दराम पराजुली र नेकपा एकीकृत समाजवादीकी प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार कल्पना बिश्वकर्माले शिक्षा क्षेत्रमा देखिएका समस्याहरुलाई गम्भीर रुपमा लिदै समाधानका लागि आ आफ्नो तर्फबाट सक्दो भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
