साढे ४ करोड ठगी गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं । नक्कली करारनामा बनाइ ४ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–१७ का ३६ वर्षीय नौसद अन्सारी रहेका छन् ।
उनलाई नक्कली करारनामा बनाइ ४ करोड ५० लाख ठगी गरेको आरोपमा प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार, अन्सारीले काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाइ ठगी गरेका थिए ।
अन्सारीले उक्त करारनामा घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँ र कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गराइ होटलमा लगानी गर्नका लागि भन्दै पटक–पटक गरी रकम लिएर ठगी गरेकाले वीरगञ्जबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
