भरुवा बन्दुक देखाएर श्रीमती कुट्ने युवक प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ कार्तिक १७, बिहीबार १५:४५
सांकेतिक तस्बिर

काठमाडौं । मोरङमा भरुवा बन्दुक देखाएर श्रीमती कुट्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको उर्लाबारी नगरपालिका–२ सिमसार टोल बस्ने ३१ वर्षीय दीपक विश्वकर्मालाई १ थान अवैध भरुवा बन्दुकसहित बुधबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मादक पदार्थ सेवन गरी दीपकले आफ्नो घरमा रहेको भरुवा बन्दुक निकाली श्रीमतीलाई डर त्रास देखाई कुटपिट गरिरहेको आरोपमा उनलाई पक्राउ गरेको हो । उनलाई अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।