सन्दीप लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस

तु खबर संवाददाता
२०७९ कार्तिक १७, बिहीबार ०९:२४

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस आज पनि हुँदैछ । बुधबारबाट सुरु भएको बहसमा प्रतिवादी सन्दीपको तर्फबाट रोशनी पौडेल, मुरारी सापकोटासहित वरिष्ठ अधिवक्ता शशि अधिकारी, सुनिता रेग्मी, अधिवक्ता शान्ति काफ्लेलगायतले बहस गरेका थिए ।

यसअघि मंगलबार साँझ अबेरसम्म सन्दीपको बयान लिइएको थियो । मंगलबार साँझसम्म बयान लिएर सकाएपछि सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेर बुधबार थुनछेक बहस भएको हो ।

सन्दीपमाथि गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप छ । पीडितको पक्षबाट भदौ २१ गते गौशाला प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीको आधार प्रहरीले उनलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।