सेनेटरी प्याडका लागि वार्षिक १५०० रूपैयाँ उपलब्ध गराउने एमालेको घोषणा

तु खबर संवाददाता
२०७९ कार्तिक १५,मंगलवार १५:५३
file-photo

काठमाडौं । नेकपा एमालेले महिनावारी हुने उमेर समूहका सम्पूर्ण महिलाका लागि गुणस्तरीय सेनिटेरी प्याड वा अन्य वैकल्पिक साधन खरिदका लागि नगद दिने घोषणा गरेको छ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनको लागि मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो बारे जानकारी गराएक हुन् ।

अध्यक्ष ओलीले आफ्नो चुनावी घोषणापत्रमार्फत एमालेले त्यस्ता महिलाका लागि १५०० रूपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् । साथै प्रसूति सेवा सुनिश्चित, हवाइ एम्बुलेन्सलगायतको व्यवस्था गर्ने पनि एमालेको घोषणापत्रमा उल्लेख छ ।

यस्तै, घोषणापत्रमा नेकपा एमालेले सबै प्रकारका भत्ता वृद्धि गर्ने उल्लेख गरेको छ । जसअनुसार ५ वर्षमा श्रमिकको मासिक म्युनतम ज्याला २५ हजार रुपैयाँ बनाउने एमालेको प्रतिबद्धता छ । यस्तै, नेकपा एमालेले बन्द रहेको हेडौंडा–काठमाडौ रोप वे सेवालाई पुनः संचालन गर्ने घोषणा गरेको छ । रोप वेलाई पुनः सञ्चालन गरी काठमाडौं केन्द्रित मालसामानको ढुवानी गर्ने उनले बताए ।

यस्तै, नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार बने आगामी ५ वर्षभित्रै देशमै रासायनिक मल कारखाना खोल्ने, खानपिनको बानीमा परिवर्तन गरी ५ वर्षमा पाँच लाख परिवारलाई खाद्य सुरक्षा प्रदान गर्नुका साथै प्रत्येक वर्षमा १ लाख परिवारलाई खाद्य सुरक्षा दिइने घोषणापत्रमा उल्लेअ गरिएको छ ।