छठ मेलामा चक्कु प्रहार गरी बालकको हत्या

तु खबर संवाददाता
२०७९ कार्तिक १४, सोमबार १५:५४

झापा । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मौवा खोलामा आइतबार आयोजित छठ मेलामा चक्कु प्रहार गरी बालकको हत्या भएको छ । झापाको दमक नगरपालिका–१० बस्ने १४ वर्षीय दियुस श्रेष्ठको चक्कु प्रहारबाट मृत्यु भएको हो ।

चक्कु प्रहारबाट श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाइते उनलाई गोदावरी अस्पतालमा उपचारपछि बीएन्डसी अस्पताल विर्तामोड लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रेष्ठको मृत्युपछि जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ उर्लाबारीका १७ वर्षीय सरोज बस्नेत, १७ वर्षीय सन्देश खवास, १६ वर्षीय सपन खत्री, १६ वर्षीय मञ्जिल माझी र १७ वर्षीय विकास तामाङ रहेका छन् ।

प्रहरीका अनुसार, श्रेष्ठमाथि पूर्व रिसिईबीका कारण चक्कु प्रहार भएको बुझिएको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।