संविधान र व्यवस्था रक्षाको लागि गठबन्धन हो : नेता बानियाँ

तु खबर संवाददाता
२०७९ कार्तिक १३, आईतवार १६:१२

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् मकवानपुर क्षेत्र नम्वर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले संविधान, व्यवस्था र प्राप्त उपलब्धी रक्षाको लागि लोकतान्त्रिक बाम गठबन्धन निर्माण भएको बताएका छन् ।

आईतबार लोकतान्त्रिक बाम गठबन्धनको मनहरी गाउँपालिका, हेटौंडा–३ र १९ का अगुवा कार्यकर्ता भेलामा बोल्दै नेता बानियाँले केपी ओली नेतृत्वको एमाले गणतन्त्र मास्न खोज्ने कमल थापा, देश टुक्र्याउन खोज्ने सिके राउत र राजा माग्ने राजेन्द्र लिङदेललगायत लिएर लठबन्धन गरेर गणतन्त्र मास्ने खेलमा लागेको बताए ।

नेकपा एमालेका नीति, नियत र नेता ठिक नभएको बताउँदै प्रदेशसभा उम्मेदवार बानियाँले व्यवस्था परिवर्तन गरिसकिएकोले अब विकास निर्माणका साथै जनताको जीवनस्तर उकास्न लागिपर्ने बताए ।

राजा, धर्म र जातको नाममा राजनीति गर्ने कमजोर सिद्धान्त भएको एमाले जस्तो पार्टीले गर्ने भन्दै नेता बानियाँले विगतमा भएको स्थानीय तहको निर्वाचनमा भएको तितोमिठो अनुभवलाई भुलेर लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउन सबै एक भएर लाग्न आग्रह गरे ।

नेकपा माओवादी केन्द्र मनहरी गाउँपालिका अध्यक्ष रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यद्वय मुनु सिग्देल र राजाराम स्याङतान, नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामा, माओवादी केन्द्रका विरबहादुर घलान ज्वाला, नेकपा समाजवादीका जिल्ला सचिव विष्णुप्रसाद दाहाल, माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य सञ्जिव पाठक, कांग्रेस मकवानपुर २ ख का सभापति रञ्जन कालाखेती, मकवानपुर क्षेत्र नं. २ का कांग्रेस प्रचारप्रसार संयोजक खेमराज सापकोटा, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, नेकपा एकीकृत समाजवादी मनहरी गाउँपालिका अध्यक्ष नारायण श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।