दक्षिण कोरियामा भाडदौड गर्दा १४९ जनाको मृत्यु
कोरिया । दक्षिण कोरियामा हेल्लोविन फेस्टिभल मनाउने क्रममा भागदौड गर्दा १४९ जनाको मृत्यु भएको छ । शनिबार राती योङसान शहरमा भीड भागदौड हुँदा २ जना विदेशीसहित १४९ जनाको मृत्यु भएको हो ।
मृत्यु भएका १४९ जनामध्ये १०१ जनालाई अस्पतालमा सारिएको थियो । बाँकी शवहरूलाई नजिकैको बहुउद्देश्यीय इनडोर व्यायामशालामा सारिएको थियो । मृतकको सनाखत हुन अझै केही समय लाग्ने दमकल विभागलले जनाएको छ।
आइतबार बिहान ६ः४० बजेसम्म दुई विदेशीको मृत्यु भएको र १५ विदेशी घाइते भएको अधिकारीहरूले पुष्टि गरेका छन् । उक्त घटनामा परेर ७८ भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
घटनामा लागूऔषधको संलग्नता छ वा छैन भन्ने प्रश्नको जवाफमा कुनै पनि लागुऔषधी सम्बन्धी रिपोर्ट पुष्टि नभएको योङसान प्रहरीको अपराध महाशाखाले जनाएको छ । उक्त दुर्घटना नियन्त्रण गर्न ३६४ दमकलसहित ८४८ जना कर्मचारी परिचालन गरिएको थियो भने १४२ एम्बुलेन्स परिचालन गरिएको थियो ।
घटनाको रिपोर्टपछि राष्ट्रपति युन सुक–योलले सार्वजनिक प्रशासन र सुरक्षा मन्त्रीको नेतृत्वमा सबै सम्बन्धित मन्त्रालय र एजेन्सीहरूले पीडितहरूलाई तुरुन्तै सहायता उपलब्ध गराउन हरसम्भव प्रयास निर्देशन दिएका थिए । राष्ट्रपतिले देशभरी हुने हेलोवीन कार्यक्रमहरूमा यस्ता घटना हुन सक्ने आपतकालिन अवस्थाहरूको सामना गर्न सुरक्षा उपायहरूको लागि पनि आह्वान गरेका छन् ।
