प्रहरी सहायक हवल्दार पक्राउ
धनगढी । कैलाली कारागारमा लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवलदार पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी सहायक हवलदार अपिल भाट रहेका छन् । उनलाई असोज ३१ मा धनगढी उपमहानगरपालिका– ७ हुलाकी राजमार्गको मनेहराबाट १३ ग्राम लागूऔषधसहित पक्राउ परेका कैलारी गाउँपालिका ६ बस्ने ३३ वर्षीय यादव कुमार चौधरीको बयानका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कारागारमा आश्रीत कैदीबन्दीका लागि लागूऔषध ओसारपसार गर्ने गरेको आरोपपछि पक्राउ परेका भाटलाई निलम्बन गरेर उनीमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्यूरोको टोलीले लागूऔषधसहित से ३ प २६८० नम्वरको मोटरसाइकलमा भारतबाट लागूऔषध ल्याउँदै गरेको अवस्थामा चौधरीलाई पक्राउ गरेको थियो । पक्राउ परेका चौधरीले प्रहरी समक्ष दिएको बयानमा आफुले ल्याएको उक्त लागूऔषध कारागारमा रहेका कैदी सन्तलाल डगौराका लागि ल्याएको बताएका थिए ।
सोही क्रममा चौधरीले कारागारमा रहेका प्रहरी सहायक हवलदार भाटमार्फत चौकिदार बसन्त बुढा र सन्तोश शाही हुँदै डगौरासम्म पुगाउने गरेको बयान दिएपछि उनीहरु पनि अनुसन्धानमा तानिएका हुन् । उनीहरुमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
