ओलीले आफ्नो निरंकुशता लाद्न संविधानमाथि प्रहार गरे : डीना

तु खबर संवाददाता
२०७९ कार्तिक ७, सोमबार ०८:१६

मकवानपुर । नेपाली कांग्रेसको केन्द्रिय सह–महामन्त्री तथा मकवानपुर निर्वाचन क्षेत्र नम्वर १ मा सत्तारुढ गठबन्धनबाट प्रतिनिधि सभाको उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले केपी ओलीले आफ्नो निरंकुशता लाद्न संविधानमाथि प्रहार गरेको आरोप लगाएकी छन् ।

सत्तारुढ गठबन्धले आइतबार बागमती गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । उनले नेपालीहरुको बलिदानबाट प्राप्त संविधानले व्यवस्था गरेको संसद ओलीले आफ्नो निरंकुशता लाद्न विघटन गरेको बताइन् । उनले संविधान निर्माणमा आफूले पनि हष्ताक्षर गरेको भन्दै नेपालको संविधानको कुनैपनि धारामा संसद विघटन गर्न पाउने अधिकार उल्लेख नभएको सुनाइन् ।

उनले अहिलेको लोकतान्त्रिक बाम गठबन्धन चुनाव जित्नको लागि नभई संविधान र लोकतन्त्रको रक्षाको निम्ति बनेको बताइन् । ‘अहिलेको यो गठबन्धन चुनाव जित्नको लागि मात्रै बनेको होइन । संविधान र लोकतन्त्रको रक्षा गर्नको निमित्त बनेको हो । त्यसैले यो गठबन्धनले चुनावपछि पनि निरन्तरता पाउनेछ’, उनले भनिन् । डीनाले शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी र बाटो निर्माण कार्य आफ्नो प्राथमिकतामा रहेको भन्दै निर्वाचन पश्चात आफूले सो कामहरु गर्ने दावी गरिन् ।

यस्तै, मकवानपुर निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश सभा (ख) का उम्मेदवार प्रेमबहादुर पुलामीले एमालेले कमल थापालाई आफ्नो चुनाव चिन्ह बेचेको आरोप लगाए । ‘एउटा पार्टीले चुनाव चिन्ह बेचेको छ रे । अर्कोले चुनाव चिन्ह किनेर आएको छ रे । चुनाव चिन्ह किनबेच गरेर आउनेलाई जिताएर पठायो भने भोली देशको अवस्था कस्तो होला ?’, उनले प्रश्न गरे ।

पुलामीले गठबन्धन अहिलेको आवश्यता रहेको भन्दै एकअर्कालाई धोका नदिन आग्रह गरे । गठबन्धनको एउटा मात्रै उम्मेदवार हारेपनि प्रदेश र संघीय सरकार बनाउन समस्या हुने भन्दै दृढ भएर गठबन्धनमा भोट हाल्न कार्यकर्ताहरुलाई उनले आग्रह गरे ।