स्थानीय जस्तै यो चुनावमा पनि गठबन्धन सफल हुन्छ : मोक्तान
मकवानपुर । मकवानपुरको क्षेत्र नम्वर २ को (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेतृ कुमारी मोक्तानले गठबन्धन फुटाउन धेरै चलखेल भैरहेको भन्दै प्रतिशोधको भावना नराखी गठबन्धनका उम्मेदवार जिताउनेतर्फ लाग्न अनुरोध गरेकी छन् ।
शनिबार गठबन्धन दलको आयोजनामा मनहरी गाउँपालिकको रजैयामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनमा मकवानपुरमा गठबन्धन सत्प्रतिशत सफल भएको स्मरण गर्दै यस निर्वाचनमा पनि ६ जना नै उम्मेदवारले विजयको माला पुर्याउने दावी गरिन् ।
‘अघिल्ला निर्वाचनहरु सम्झेर प्रतिशोधको भावना नराख्नुहोला यसले ठीक गर्दैन, गठबन्धन अहिले राष्ट्रिय आवश्यकता हो । चुनावपछि पनि गठबन्धन जारी नै रहन्छ । मकवानपुरको विकास पनि गठबन्धन मिलेरै गर्ने हो’, उनले भनिन् ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्री समेत रहेकी उनले भनिन्, ‘गठबन्धनमा सबै आफैले मात्र लिने भन्ने हुँदैन । गठबन्धन हुँदा सबै पार्टीलाई मिलाउनुपर्ने अवस्था भएकोले धेरै आकांक्षीहरुलाई चोट पुगेको पनि हुनसक्छ । गठबन्धनको उम्मेदवार मकवानपुरमा ६ जना हो, मेरो पार्टीको हो वा होइन भनेर हेर्ने बेला होइन, ६ जनालाई नै जिताउन सबैले आ–आफ्नो स्थानबाट भूमिका खेल्न जरुरी छ ।’
गठबन्धनका उम्मेदवारहरु मुख्यमन्त्री देखि केन्द्रको मन्त्रीसम्म हुनसक्ने हैसियतको भएको उल्लेख गर्दै मोक्तानले सत्ता गठबन्धनको जितले मात्रै मुलुकको विकास र हिन हुनसक्ने बताइन् । जनताले सोचेको जस्तै विकास गठबन्धनले मात्रै गर्नसक्ने उनको दावी थियो ।
