मकवानपुरका चार जना प्रहरीको फन्दामा
मकवानपुर । प्रहरीले फलाम चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । जिल्लाको बकैया गाउँपालिका वडा नम्वर १२ जितपुर भञ्ज्याङस्थितमा फाष्ट ट्र्याक निर्माण गर्नको लागि राखिएको फलामको सामनहरु (निर्माण सामाग्री) चोरी गर्ने चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुरगढी गाउँपालिका–२ बस्ने ३३ वर्षीय इन्द्रबहादुर बिक, बकैया गाउँपालिका–१२ कोलखोप बस्ने २२ वर्षीय अबिरल घलान, २४ वर्षीय दिनेश लामा बम्जन र ३२ वर्षीय नारायण बहादुर मोक्तान रहेका छन् ।
प्रहरीका अनुसार, फलामको सामनहरु अन्दाजी १२÷१३ क्वीन्टल बराबरको रहेको छ । उक्त फलामको सामनहरु ना ५ ख १४४३ नम्वरको बोलेरो गाडीमा चोरी गरी लिएर जाँदै गरेको अवस्थामा अस्थाई प्रहरी पोष्ट जितपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
उक्त बोलेरो गाडीलाई अगाडि बाटो देखाउँदै हिड्दै गरेको बा ५५ च ८५०२ नम्वरको मोटरसाइकललाई समेत नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
