गठबन्धनका शीर्ष नेताले आज पोखरामा प्रशिक्षण दिने

तु खबर संवाददाता
२०७९ कार्तिक ४, शुक्रबार ०८:२०
file-photo

काठमाडौं । सत्तारुढ गठबन्धनको प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियान आजदेखि सुरु भएको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरुले आज पोखराबाट प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियान सुरु गर्न लागेका हुन् ।

त्यसका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति देउवा बिहीबार नै पोखरा पुगिसकेका छन् । प्रशिक्षणलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज पोखरा जाँदै छन् ।

गठबन्धनका शीर्ष नेताहरुले शुक्रबार ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । यस्तै, सत्ता गठबन्धनले आजै लुम्बिनी प्रदेशको बुटवलमा पनि प्रशिक्षण कार्यक्रम राखेको छ ।

कात्तिक ५ गते विराटनगर र जनकपुरमा प्रशिक्षण कार्यक्रम हुनेछ । उक्त कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि आमन्त्रण गरिने छ । यस्तै कात्तिक ६ गते धनगढी र सुर्खेतमा प्रशिक्षण हुनेछ भने कात्तिक ७ गते काठमाडौंमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम रहेको गठबन्धनले जनाएको छ ।