बागमतीसहित तीन प्रदेशमा समानुपातिक तर्फको मतपत्र ढुवानी
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बागमतीसहित ३ तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ ।
आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौं जिल्लामा मतपत्र ढुवानी गरेसँगै तीन प्रदेशमा मतपत्र ढुवानी सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार, समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड २२ लाख २५ हजार मतपत्र ढुवानी भएको छ । जसमध्ये प्रदेश सभातर्फ एक करोड १४ लाख ९९ हजार तथा प्रतिनिधि सभातर्फ एक करोड सात लाख २६ हजार मतपत्र रहेका छन् ।
ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही र सिन्धुली जिल्लामा यसअघि नै समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र ढुवानी भइसकेको आयोगले जनाएको छ ।
