पेस्तोलसहित दुई जना प्रहरीको फन्दामा
काठमाडौं । भक्तपुरको गठ्ठाघरमा लुट्न गएका दुई जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भएका ४१ वर्षीय अमरबहादुर मगर र संखुवासभाको पाँचपखन नगरपालिका–८ घर भएका ३२ वर्षीय रविनकिशोर राई उर्फ सुवास रहेका छन् ।
भदौ २५ मा बिहान ३ बजेतिर उनीहरुले गठ्ठाघरको एउटा घरबाट धनमाल डाँका गरेर लगेको आरोप छ । उनीहरुलाई ‘मेड इन इटली’ लेखिएको एकथान पेस्तोल र दुई राउण्ड गोलीसहित पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघरमा उनीहरुसहित ४ जना लुट्न गएका थिए । सो लुटको योजना अमरबहादुर मगरले बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएके छ र अमर डाँका चोरी मुद्दामा ४ वर्ष जेल बसेर छुटेका हुन् । २०७६ पुसमा जेलमुक्त भएपछि उनी फेरि लुटपाटमा लागेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
