लागूऔषधसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०७९ आश्विन २९, शनिबार १७:५२
सांकेतिक तस्बिर

मकवानपुर । प्रहरीले तनहुँ र बाँकेमा गरी दुई छुटछुट्टै स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेबाट शनिबार २ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय विवेक तामाङ रहेका छन् । उनलाई अस्थाई प्रहरी पोष्ट दुलेगौडाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । दुलेगौडाबाट पोखरातर्फ जाँदै गरेका उनलाई जाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा बरामद गरेपछि पक्राउ गरिएको हो ।

यस्तै, प्रहरीले शनिबार नै बाँकेको कोहलपुर नगरपालिका–१० रामनगरबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले २ सय ३० मिलिग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही नगरपालिका–५ एनसिसिएन बस्ने २१ वर्षीय क्षितिज मल्ल रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।