हेटौंडाबाट लागूऔषधसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०७९ आश्विन २७, बिहीबार १५:३२
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले आज बिहान लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ८ सिमपानीस्थित राक्सिङ देवकोट सडकखण्डबाट लागूऔषध गाँजा १२ किलो ५०० ग्रामसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा क्रमशः भारतको मोतिहारी बलहि गाउँ बस्ने बर्ष ३५ को रमेस माझी, वर्ष ५५ को हरिन्द्र माझि र बर्ष ४० को दिलिप माझी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनीहरुलाई विशेष सूचनाको आधारमा खटिएको प्रहरी सहायक निरीक्षकको टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

उनका अनुसार, बिहान ९ः३० बजेको समयमा राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ च १३१८ नम्वरको यात्रुबाहक बलेरो जिपलाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरुले प्लाष्टिकको झोलामा प्याक गरी शरिरको विभिन्न भागमा लुकाई छिपाई ल्याएका उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।