आसन्न निर्वाचन : मकवानपुरमा परेन उम्मेदवारीमाथि उजुरी
मकवानपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता गराएका मकवानपुरका कुनै पनि उम्मेदवारमाथि उजुरी नपरेको निर्वाचन अधिृकतको कार्यालय हेटौंडाले जनाएको छ ।
निर्वाचन अन्तरगत आइतबार उम्मेदवारी दिएका उम्मेदवारमाथि सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने समय तोकिएको भएपनि मकवानपुरमा एउटा पनि उजुरी नपरेको प्रतिनिधि सभा क्षेत्र नम्वर १ का मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।
मकवानपुरका दुई वटा प्रतिनिधि सभा क्षेत्र र चार वटा प्रदेश सभा क्षेत्र गरी ६ वटा क्षेत्रमा ६९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जिल्लामा प्रतिनिधि सभातर्फ २६ जना र प्रदेश सभातर्फ ४३ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत निरौलाले बताए ।
प्रतिनिधि सभा सदस्य पदमा मकवानपुर क्षेत्र नम्वर १ बाट २ जना स्वतन्त्रसहित १६ जना र क्षेत्र नम्वर २ बाट एक जना स्वतन्त्रसहित १० जना गरी २६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैगरी, प्रदेश सभा सदस्य पदमा मकवापुर क्षेत्र नम्वर १ (क) मा ८ जना, १ (ख) मा १० जना र क्षेत्र नम्वर २ (क) मा १० जना र २ (ख) मा १५ जना गरी ४३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी गराएका कुनै पनि उम्मेदवारमाथि उजुरी नपरेपछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत निरौलाले जानकारी दिए । उनीहरुलाई असोज २६ गते चुनाव चिन्ह्र प्रदान गर्ने कार्यसूची रहेको छ ।
