रवि लामिछानेले गराए चितवन–२ बाट मनोनयन दर्ता

तु खबर संवाददाता
२०७९ आश्विन २३, आईतवार १६:५२
file-photo

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराएका छन् । उनले चितवनबाट नफर्कने गरी त्यहाँ ओर्लिएको बताउँदै मनोनयन दर्ता गराएको जानकारी दिउ ।

उम्मेदवारी दिएपछि लामिछानेले आफूलाई विगतमा चितवनले लगाएको गुण तिर्न चाहेको बताए । उनले मंसिर ४ गतेको निर्वाचनमा आफूलाई अमूल्य मत दिएर जिताउन आग्रह गरे ।

लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा समय यस्तो थियो जब मलाई झुक्याएर राता रात भरतपुर चितवन पुर्याइयो र आधा रातमा हिरासतमा कोचियो । म आँखामा अन्योल र आँसु बोकेर चितवन आएको थिए। अर्को समय आज छ, जहाँ म आफ्नै इच्छा र चाहनाले आँखा भरी सपना र समाज परिवर्तनको योजना बोकेर चितवन नै आएको छु । यस पटक म नफर्कने गरेर आएको छु । म चितवनले लगाएको गुण तिर्न चाहन्छु,जीवन भर चितवनको मान्छे बनेर।’