मकवानपुरका चेपाङसहित चार जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ आश्विन १२, बुधबार १८:०२
सांकेतिक तस्बिर

पर्सा । पर्साको वीरगंज महानगरपालिका–३१ मिलन चौकबाट प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर १ रायसी बस्ने ३४ वर्षीय सिमन चेपाङसहित ४ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरी चौकी मिलनचौकबाट खटिएको प्रहरीले ५ किलो गाँजासहित पक्राउ गरेको हो । जितपुरबाट बिरुवागुठीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ह ९७५ नम्वरको अटोलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेका अन्य व्यक्तिहरुको भने प्रहरीले नाम सार्वजनिक गरेको छैन । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।