मकवानपुरमा ५ हजार ८१४ जना नयाँ मतदाता थपिए

तु खबर संवाददाता
२०७९ आश्विन ११, मंगलवार १५:४४
file-photo

मकवानपुर । मकवानपुरमा ५ हजार ८ सयभन्दा बढी मतदाता संख्या थपिएका छन् । जिल्लाको क्षेत्र नम्वर १ र २ मा गरी कूल ५ हजार ८१४ जना नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।

यससँगै मकवानपुरमा कूल मतदाताको संख्या ३ लाख ७ ३३ जना पुगेको छ । जसमध्ये जिल्लाको निर्वाचन क्षेत्र नम्वर १ मा १ लाख ५० हजार १५५ र निर्वाचन क्षेत्र नम्वर २ मा १ लाख ५० हजार ७५८ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार, जिल्लाको क्षेत्र नम्वर १ र २ मा गरी १६७ वटा मतदान स्थल र ३६४ वटा मतदान केन्द्रहरु तोकिएको छ । जसमा निर्वाचन क्षेत्र नम्वर १ मा ६२ वटा मतदानस्थल, १७२ वटा मतदान केन्द्र तोकिएको छ भने क्षेत्र नम्वर २ मा १०५ वटा मतदानस्थल र १९२ वटा मतदान केन्द्र तोकिएको छ ।

निर्वाचन आयोग काठमाडौंले निर्देशन गरिए अनुसार, मकवानपुरमा यही असोज २० गतेभित्रै मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरी संचालनमा ल्याउन तयारी भइरहेको मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी गुणराज न्यौपानेले बताए ।