अवैध सुनसहित तीन जना प्रहरीको फन्दामा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा ल्याउँदै गरेको सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो दुबईदेखि काठमाडौं आएका उनीहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा अवैध सुनसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मोरङ सुन्दर हरैंचा नगरपालिका–९ घर भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ घर भएका १९ वर्षीय कवीन्द्र विश्वकर्मा र कालीकोट पलाता गाउँपालिका–७ घर भएका २५ वर्षीय जीवराज बम रहेका छन् ।
पक्राउ परेकाहरूबाट भन्सार छली ल्याएको एक–एक थान सुनको सिक्री र एक–एक थान औंठी गरी करिब एक सय ग्राम सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी मधुकुमार पौडेलले जानकारी दिए ।
