अस्थायी मतदाता नामावली संकलनको तालिका सार्वजनिक

तु खबर संवाददाता
२०७९ आश्विन ४, मंगलवार १७:१५

काठमाडौं । निर्वाचन आयोगले अस्थायी मतदाता नामावली संकलनको तालिका सार्वजनिक गरेको छ । आयोगका अनुसार, आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचन प्रयोजनका लागि अस्थायी मतदाता नामावली संकलन हुन लागेको हो ।

यही असोज ६ देखि ८ गतेसम्म अस्थायी मतदाता नामावली संकलन हुने आयोगले जनाएको छ । आयोगका अनुसार, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारीका अतिरिक्त व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी अस्थायी मतदाताका रुपमा सूचीकृत हुन पाउँछन् ।

यस्तै, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिइ सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिहरुलाई अस्थायी मतदाता नामावलीमा समावेश हुन योग्य मानिएको छ ।

अस्थायी मतदाता नामावलीका लागि सम्बन्धित कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाउने व्यवस्था गरिएको आयोगले जनाएको छ । असोज ८ देखि २६ गतेसम्म सम्बन्धित निकायका प्रमुखले मतदाता नामावलीमा समावेश हुने व्यक्तिहरुको नामावली (अन्तिम मतदाता नामावलीमा समावेश हुने व्यक्ति) प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाउने तालिका निर्धारण भएको छ ।