एकीकृत समाजवादीको समानुपातिक तर्फको उम्मेदवारका मापदण्ड तय
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशस भाको निर्वाचनमा समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूचीका मापदण्ड तय गरेको छ । जसअनुसार पार्टीले हाल समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्य रहेकालाई लगातार दोहोराएर अहिलेको बन्दसूचीमा नराख्ने भएको हो ।
त्यस्तै, स्थानीय तह निर्वाचन २०७९ मा पार्टीका तर्फबाट उम्मेदवार भएकालाई अहिलेको बन्दसूचीमा नराख्ने तथा विगतमा दुई पटक वा सोभन्दा बढी समानुपातिक सांसद वा राष्ट्रिय सभाको सदस्य भएकालाई पनि बन्दसूचीमा नराख्ने भएको पार्टीका महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।
उनका अनुसार, विगतमा अवसर नपाएकालाई प्राथमिकता दिने तथा सम्बन्धित क्लष्टरको वरिष्ठलाई प्राथमिकता दिइनेछ । उम्मेदवार तय गर्दा कार्यक्षमता राम्रो भएको र सक्रिय रहेको, पार्टी निर्माणमा राम्रो योगदान गरेको, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती भएको तथा भौगोलिक सन्तुलन मिलाउने कुरालाई ध्यान दिइने पनि उनको भनाई छ ।
